वैकल्पिक लोकमार्गको आड, तयारी गिट्टी भारत निकास

74

त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय प्रमुख शम्भुप्रसाद साहका अनुसार निर्माण सामग्री प्रशोधन प्लान्टको बोर्डमुनि क्रसर उद्योग सञ्चालनमा छ। ‘यो क्रसर उद्योगको अभिलेख हामीसँग छैन,’ उनले भने। अर्थात् यहाँ सञ्चालित क्रसर उद्योग बिनादर्ता सञ्चालन भइरहेको छ। ‘घरेलु कार्यालयमा दर्ता नभएको उद्योगको अनुगमन, नियन्त्रण वा कारबाही मैले गर्न मिल्दैन,’ उनले भने।

जिल्ला वन कार्यालय उदयपुरका डिएफओ विश्वप्रसाद भण्डारीका अनुसार चुहाडेमा सञ्चालित क्रसर उद्योग चुरे क्षेत्रमै छ। तर, यो उद्योग सञ्चालन अनुमति पाएनपाएको बारे आफूलाई जानकारी नभएको उनले बताए।

‘उद्योग दर्ता अनुमति घरेलुले दिन्छ, त्यो बेला वनक्षेत्र सीमांकनका लागि हामीलाई पत्राचार गर्ने हो, अहिलेसम्म पत्र नआएकाले दर्ताबारे जानकारी छैन,’ उनले भने, ‘वैकल्पिक लोकमार्गका लागि खपत हुने नदीजन्य पदार्थ निर्बाध रुपमा संकलन गर्न दिने भनेर ०७२ सालको मन्त्रिपरिषद्को निर्णयअनुसार नदीजन्य पदार्थ संकलन गर्न हामीले चुरे संरक्षित क्षेत्रमा प(यो भनेर उत्खनन रोक्ने कुरा भएन,’ उनले बताए। घरेलुले दर्ताका बेला हामीसँग चुरे वनक्षेत्र सीमांकनका लागि सोध्यो भने दुरी यकिन गरेर लिखित जबाफ फर्काउने उनले बताए।

प्रमुख जिल्ला अधिकारी विश्वबहादुर कार्कीका अनुसार वैकल्पिक राजमार्ग निर्माणका लागि निर्माण व्यवसायीले क्रसर उद्योग सञ्चालन गर्न घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराइराख्नुनपर्ने दाबी गरे। ‘निर्माण व्यवसायीलाई क्रसर सञ्चालन गर्ने छुट हुन्छ,’ कार्कीले भने, ‘यो क्रसर उद्योग नियमसम्मत सञ्चालन भएको छ।’

जिल्ला समन्वय समिति गाईघाटका एलडिओ शिवप्रसाद हुमागाईंका अनुसार हामीले नदीजन्य पदार्थ उत्खनन एवं संकलनका लागि स्थान निश्चित गरिदिएका छौं। वैकल्पिक राजमार्ग निर्माणका लागि चाहिने नदीजन्य पदार्थ निर्बाध संकलनका लागि संघीय मामिला मन्त्रालयबाट पनि पत्र प्राप्त भएको जानकारी उनले दिए। उनले भने, ‘क्रसर उद्योगका लागि चाहिने स्रोत (नदीजन्य पदार्थ) हामीले उपलब्ध गराउने हो। उद्योग दर्ता त घरेलु तथा साना उद्योग कार्यालयबाटै गराउनुपर्छ । हामीले क्रसर उद्योगका लागि आपूर्ति हुने स्रोत (नदीजन्य पदार्थ) का लागि नदी, खोला तोकिदिएका छौं । उद्योग दर्ता भएन–भएको थाहा भएन।’

नाम एउटा काम अर्कै
निर्माण सामग्री प्रशोधन प्लान्ट नाम राखेर क्रसर उद्योग सञ्चालन भइरहेको जानकारी पाएर अनुगमनमा गएका घरेलु तथा साना उद्योग कार्यालय गाईघाटका प्रमुख शम्भुप्रसाद साह उद्योगभित्र पस्दा छक्क परे। विशाल क्रसर प्लान्टले प्राकृतिक सम्पदा पेलेर तयारी गिट्टी निकालिरहेको देखेर उनी अचम्मित भए। चुरेको फेदमै यति ठूलो क्रसर उद्योग कसरी सञ्चालन भएको खोतल्दै जाँदा प्रशोधन केन्द्रको आडमा क्रसर उद्योग सञ्चालन भएको उनले भेटाए।

साह भन्छन्, ‘दर्तै नभई सञ्चालित उद्योगको नियमन र नियन्त्रण गर्ने मलाई अधिकार छैन। खोतल्दै जाँदा यहाँ रौता त्रियुगा बालुवा प्रशोधन केन्द्रको आडमा क्रसर उद्योग सञ्चालन भइरहेको पाइयो।’ यो बालुवा प्रशोधन केन्द्र शारदा पोखरेलको नाममा दर्ता छ। तर, बालुवा प्रशोधन केन्द्रले क्रसर उद्योगले गर्ने काम गर्न पाउँदैन। क्रसर उद्योग सञ्चालन गर्नुभन्दा अगाडि अनुमति लिनुपर्छ । अनुमति दिँदा नियम, मापदण्डलगायत प्रक्रिया पु-याउनुपर्छ,’ उनले भने, ‘बिना अनुमति सञ्चालन गर्दा त प्रक्रिया पु-याउनु पर्दैन।’

यस्तो छ क्रसर सञ्चालन मापदण्ड
सर्वोच्च अदालतको ०६७ साउन २१ को आदेश तथा वातावरण मन्त्रालयको ०६७ भदौ २३ को निर्णयअनुरुपको प्रक्रिया पूरा गरी नेपाल सरकार मन्त्रिपरिषद्ले २०७० भदौ ७ गतेको निर्णयले क्रसर उद्योग सञ्चालन मापदण्ड र सर्त तोकेको छ। जसअनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गराउनुपर्ने। आइइई प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदाहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने। क्रसर मेसिनका लागि सेड अनिवार्य रुपमा राख्नुपर्ने । नगरपालिका क्षेत्रमा क्रसर उद्योग स्थापना गर्न नपाइने।

गाउँ विकास समितिमा क्रसर उद्योग सञ्चालन गर्दा बस्तीबाट दुई किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने। खोला किनारबाट पाँच सय मिटर टाढा हुनुपर्ने। राजमार्गबाट पाँच सय मिटर टाढा हुनुपर्ने । धार्मिक सांस्कृतक र पुरातात्विक महत्वको स्थानबाट दुई किलोमिटर टाढालगायत मापदण्ड निर्धारण गरिएको छ।

दोहनले नदी गहिरिँदा गाउँलेले लखेटे
त्रियुगा र काली खोलाको मूल चुरे हो। त्रियुगा खोलाको किनारको गाउँ तोरीबारी । यहाँका अधिकांश मानिसका खेतीबारी सिँचाइको साधन यी दुई खोला हुन । खोलाबाट कुलो खनेर गाउँलेहरुले खेतसम्म पु¥याएका छन्। खेत गहिरो र नदी उँचो भएकाले यस क्षेत्रका किसानका लागि यी खोला वरदान साबित भएका छन् । तर, केही महिनादेखि यहाँका किसान चिन्तित छन्। ‘उः पर क्रसर उद्योग स्थापना भएदेखि जेसिबी लगाएर नदी खनेर ढुंगालगायतका पदार्थ झिके,’ तोरीबारीका किसान श्याम बुढाथोकीले भने, ‘अब त कुलोमा पानी चढ्नै छोड्यो, खेतबारीमा कसरी पानी लगाउने चिन्ता छ।’

यी दुवै खोलाको मूल चुरे हो अर्थात् चुरेबाट निस्केका यी खहरे खोलाहरु हुन्। ‘यी खोलामा केही महिनादेखि नदीजन्य पदार्थ झिकेर सतह गहिरो हुँदा किसानलाई सिँचाइ असुविधा भएको छ । कुलोमा पानी नचढ्ने गरी खोला गहिरो बनाएपछि हामी मिलेर यहाँबाट जेसिबीलाई लखेट्यौं’, बुढाथोकीले भने।

त्रियुगा–७ चुहाडेका लालबहादुर बस्नेत कानुनले ठूलाबडालाई नछुने बताउँछन्। ‘कमजोरलाई छाड्दैन, बलियालाई छुँदैन’, ६० वर्ष नाघिसकेका उनले भने। उनले क्रसर र खोलाको दोहनबारे धेरै खुलाउन चाहेनन्। बस्नेतले भने, ‘बोलेर र लेखेर ठूलालाई के नै फरक पर्छ र१’

वैकल्पिक लोकमार्गको आडमा विदेश निकासी
वैकल्पिक लोकमार्गमा प्रयोग गर्न भन्दै बिनादर्ताका क्रसरबाट उत्पादित तयारी गिट्टी (क्रसर गिट्टी) लोड भएको ११ वटा टिपर भारतीय सीमावर्ती क्षेत्रतर्फ जाँदै गरेको सूचना पाएर इलाका प्रहरी कार्यालय जलजले उदयपुरले नियन्त्रणमा लिएको थियो। निर्माणाधीन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा खण्डमा मात्र निर्माण सामग्री प्रयोग भइरहेको सिडिओ, एलडिओलगायतका अधिकारीको दाबी यो घटनाले लगत प्रमाणित गरिदियो।

वैकल्पिक लोकमार्गका नाममा स्थानीय खोला र नदी दोहन गरी नदीजन्य पदार्थबिना दर्ता सञ्चालनमा रहेको क्रसरमा पेलेर जिल्लाबाहिर चोरी निकासी बढेको स्थानीयको गुनासोपछि प्रहरीले ती टिपर नियन्त्रणमा लिएको थियो। ‘त्रियुगा र कालीखोलाको सतह खनेर ढुंगालगायत नदीजन्य पदार्थ क्रसरमा पेलेर तयारी गिट्टी सप्तरीको सीमावर्ती पातो नाका हुँदै भारत निकासी भइरहेको सूचना पाएपछि प्रहरीले ती टिपर नियन्त्रणमा लिएको थियो’, इलाका प्रहरी कार्यालय जलजलेका सई दिलीप दासले भने। (नागरिक दैनिक)