अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा

१६ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले अनलाइनखबरसँग भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।

यसक्रममा भरतपुर महानगरले धुर्मुसलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकन र विश्लेषणपछि चितवनमा रंगशाला बनाउन धुर्मुस तयार भएका थिए ।

तर, जग्गा उपलब्ध गराउने कार्य निकै झण्झटिलो र लामो बन्यो । यसले लामो समय दिएपनि अब रंगशालाका लागि आवश्यक जग्गा प्राप्ति भएको छ । रंगलाशा निर्माणका लागि जनस्तरबाट यति ठूलो रकम संकलन गर्ने कार्य भने चुनौतिपूर्ण छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here