प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । 

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए । 

मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो । विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् भने रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका थिए ।

कसरी भयो विधेयक पास ?
शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् सरिता गिरीले आफ्नो धारणा राखिन् । उनले धारणा राखेलगत्तै कांग्रेस सांसदले अवरोध सुरु गरे । आआफ्नो स्थानबाट उठेर कांग्रेस सांसदले नाराबाजी गर्दा सभामुखले पटकपटक आफ्नो स्थानमा गएर बस्न आग्रह गरेपनि नाराबाजीलाई निरन्तरता दिए । 

पटकपटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । विरोधबीच मन्त्री पोखरेललाई विधेयक टेबुल गर्न सभामुखले अनुमति दिए । 

सभामुखको अनुमति लगत्तै कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्ने प्रयास गरे पनि मर्यादापालकको सहयोगमा मन्त्री पोखरेल ड्यासमा पुगेका थिए । 

विधेयक टेबुल भएपछि सभामुख महराले छलफलका लागि नाम टिपाउन सांसद समय दिए । तर, कुनै सांसदले नाम नदिएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे । 

उपसमितिको प्रतिवेधन विधेयकको अंगको रुपमा स्वीकार भएपछि सभामुख महराले विधेयकलाई निर्णायार्थ संसदमा पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए ।  विधेयक टेबुल गरेर ड्यासमै बसेका मन्त्री पोखरेलले निर्णायार्थ पेश गरेलगत्तै संसदको बहुमतले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको हो । 

चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको दाबी गरेको छ । डा. केसी भने गलत मनसायले विधेयक संसदमा पुगेको भन्दै १६ पटक अनसनमा छन् । इलामबाट अनुसन सुरु गरेका केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । केसी अनसन बसेको १७ औं दिनमा शुक्रबार संसदबाट विधेयक पारित भएको हो । 

संसदको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । annapurnapost बाट साभार

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here